काठमाण्डु, ६ असोज- प्रहरी उच्च स्रोतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी नरहेको जनाएको छ । आइतबारै पक्राउ गर्न लागिएको भन्ने हल्ला निराधार रहेको एक डिआईजीले बताए । आइतबारै पक्राउ गर्न लागिएको भन्दै रास्वपा कार्यकर्ता वनस्थलीस्थित केन्द्रीय कार्यालयमा ज़म्मा भएका थिए । लामिछानेलाई पक्राउ गर्न लागिएको सूचना पाएपछि उपसभापति स्वर्णिम वाग्ले नेतृत्वमा शनिबार चीन भ्रमणमा गएको रास्वपाका १४ नेता भ्रमण छाडेर सोमबार स्वदेश फर्कंदै छन् । प्रहरीले सहकारीको बचत अपचलन गरेको आरोपमा आफ्ना पूर्वडिआईजी एवं गोर्खा मिडियाका तत्कालीन सन्चालक छविलाल जोशीलाई आइतबार पक्राउ गरी पोखरा लगेको छ । प्रहरी स्रोतका अनुसार गोर्खा मिडियाका तत्कालीन सन्चालक लामिछानेलाई पनि पक्रने तयारी भने छ । कास्की जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिने ती अधिकारीले बताए । जोशी भाग्ने तयारीमा रहेकाले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको तर पूर्वगृहमन्त्री र बहालवाला सांसद लामिछाने भाग्ने सम्भावना नरहेकाले अदालतबाट पुर्जी लिएर मात्र पक्राउ गरिने स्रोतले जनाएको छ ।