काठमाण्डु, ६ असोज– वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आग्रह गरेको छ ।
त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन अनुरोध समेत गरेको छ ।
वैदेशिक रोजगार ऐन, ०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तै स्वदेशमा शाखा कार्यालय सञ्चालन सम्बन्धी कार्यविधि, ०७९ ले शाखा कार्यालयको प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने बताएको छ ।
सोही अनुसार ०८१ को असोज मसान्तभित्र नवीकरण गर्न विभागले आह्वान गरेको हो । शाखा कार्यालय नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने विभागले बताएको छ ।
नवीकरणका लागि इजाजतपत्र प्राप्त संस्थाको दर्ता प्रमाणपत्र (नवीकरण) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णय पेस गर्नुपर्नेछ ।