सहकारी डिभोर्स गरेको आरोप लागेपछि धनराजले भनेः पटकपटक थाइल्याण्ड जान थालेपछि श्रीमती छाडेको हुँ

काठमाण्डु टुडे २०८१ भदौ २४ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २४ भदौ–काँग्रेस उपसभापति एवं सांसद् धनराज गुरुङले आफूविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको विषयमा उजुरी परेको स्वीकार गरेका छन् ।

यद्यपि गुरुङले आफूले सहकारीबाट कुनै रकम नलिएको बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले कांग्रेस सांसद गुरूङ र उनकी पत्नी ज्योति गुरूङविरूद्ध सहकारी बचत ठगीका विषयमा सिआइबीमा उजुरी परेको बताए ।

लतितपुर महालक्ष्मीस्थानमा हरेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले करिब १४ करोड ८१ लाख रकम हिनामिना गरेको आरोपमा आफूविरुद्ध उजुरी दिएको विषयमा जानकार रहेको धनराजले बताए ।

गुरुङले ज्योती र आफूबीच ०७६ सालमै सम्बन्ध बिच्छेद भइसकेकाले उनले गरेको कारोबारको जिम्मा लिन नसक्ने जिकिर गरे । ज्योती उक्त सहकारीमा व्यवस्थापक रहेको गुरुङले स्वीकार गरे ।

सहकारीमा काम गर्दा महिनामा दुईदेखि तीनपटकसम्म थाइल्याण्डको राजधानी बैंकक जान थालेका कारण आफूले प्रश्न उठाएपछि ज्योतिले नै सम्बन्ध बिच्छेदको मुद्धा दिएको गुरुङ बताउँछन् ।

‘बैंकक जाने भन्थिन् । कहिले काहीं त २० दिनसम्म पनि हराउँथिन् । मैले के कामले यसरी पटकपटक जान्छौ भनेर प्रश्न गर्न थालेपछि ज्योती आफैंले सम्बन्ध विच्छेदको निवेदन दिएकी हुन्’, गुरुङले भने, ‘मैले कुनै ऋण लिएको छैन । पूर्वश्रीमतीले मलाई छोडेपछि गरेको कारोबारको जिम्मा मैले लिनुपर्छ भन्ने छैन ।’

गुरुङले समाचारमा पढेपछि मात्र आफूलाई थाहा भएको दाबी पनि उनले गरे । सहकारीका अध्यक्षले आफू उम्किने बहानाका लागि आफूविरद्ध उजुरी दिएको आरोप उनले लगाए । उनले आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us