धनगढी, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गलत तरिकाले रकम गएको स्वीकार गरेका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेशको बैठकका लागि धनगढी आइपुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम गएको विषय स्थापित भएको बताए । यद्यपि त्यसरी रकम लैजाने काममा आफू संलग्न नरहेको उनको भनाइ थियो ।
‘गोर्खा मिडियालगायत विभिन्न संस्थामा सहकारीबाट गलत ढंगले पैसा गएको कुरा स्थापित भएकै कुरा हो । अनुसन्धानले देखाएको कुरा हो’, उनले भने, ‘तर कसले गर्यो भन्ने अदालतमा गइसकेको कुरा हो । क–कसले बदमासी गर्यो भनेर स्पष्ट पारिसकेको हो। त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने हो । प्रमाण हुनेबित्तिकै मैले जिम्मेवारी त लिनैपर्छ ।’
हालसम्म बाहिर आएका प्रहरी प्रतिवेदनले त्यसमा कसको संलग्नता छ भन्ने स्पष्ट भइसकेको लामिछानेले उल्लेख गरे । फरक प्रसंगमा उनले सहकारीको बचत अपचलनबारे छानबिन गर्न एमाले सांसद सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन समितिले मिहेनतपूर्वक काम गरेको र त्यसले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
सहकारी ठगीको पर्याय नै रवि लामिछाने भएको जसरी मिडिया ट्रायल गरिएको उनको टिप्पणी थियो । लाखौं सहकारी पीडितलाई न्याय दिनुभन्दा रवि लामिछानेलाई डाम्न पाए हुन्थ्यो भन्ने उद्देश्यद्वारा प्रेरित भएर मिडिया ट्रायल गरिएको उनको टिप्पणी छ ।
त्यस्तो काममा लाग्नेहरुले लाखौं सहकारी पीडितको अपेक्षामा कुठाराघात गरिरहेको आरोप लामिछानेले लगाए । राजनीतिमा प्रवेश गर्नुअघि लामिछाने ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने कम्पनी गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।
सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले लाछिानेसँग दुई साताअघि ९ घण्टासम्म सोधपुछ गरेको थियो ।