ओली शासन र राणा शासन उस्तैः सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८१ भदौ २४ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– रास्वपा संसद् एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा रोकिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीको दिक्षान्त समारोह रोकिएकामा सरकारसँग जवाफ माग गरेकी छन् ।

प्रतिनिधिसभाको आकस्मिक बैठकमा सोमबार श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको दल एमाले र गृहमन्त्री रमेश लेखको दल काँग्रेस सम्वद्ध विद्यार्थीको अवरोधले कृषि, भेटेरीनरी र वन संकायमा परीक्षा रोकिएको र पठनपाठन ठप्प भएको बताइन् ।

विश्वविद्यालयलाई दलहरुले पठनपाठनको क्षेत्र कम र पार्टी प्यालेस बढी बनाएका कारण यस्तो अवस्था आएको श्रेष्ठको भनाइ थियो । उनले यस्ता व्यवहारले विद्यार्थीलाई के सिकाउँदै छौं भन्ने प्रश्न गरिन् ।

‘चार वर्षमा सक्ने जाँच कतिसम्म चल्ने हो ? विश्वविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी । दुईटा विद्यार्थी संगठनको लडाईंमा पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ? विद्यार्थीहरुलाई हामीले के सिकाउँदैछौं ? न पढ्न दिन्छौं, तालाबन्दी गर्छौं । बल्लबल्ल चाँज दिन गयो जाँच दिने पनि व्यवस्था मिलाइदिँदैनौं । त्यसपछि दीक्षान्त समारोह भएपछि दीक्षान्त  समारोह पनि रोकिदिन्छौं ।’

श्रेष्ठले एक दिन अगाडि रातको समयमा आएर कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले कार्यव्यवस्तताका कारण आउन नसक्ने बताएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह समारोह रोकिएको भन्दै आक्रोश पोखिन् ।

‘आइतबार हुनुपर्ने दीक्षान्त समारोह सामारोहमा सबै जना विद्यार्थी अब त दीक्षित भइन्छ भनेर आए । कुलपति प्रधानमन्त्रीज्यूले राति म आउन सक्दिन कार्यव्यवस्तताका कारण भनेर जानुभएन । अब त कार्यक्षमतामै प्रश्न उठन् थाल्यो । विद्यार्थीहरुको दिक्षित हुने राइट होइन ? त्यो हक अधिकार होइन ?’, उनले भनिन्, ‘म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरुको जीवनमा यस्तो खेलबाड नगरियोस । बरु राणा शासनमा एउटा विद्यालय खोलिएको थियो भनेर भन्छन् । ओली शासनमा इतिहासले कसरी लेख्छ हामीले हेर्नुपर्ने छ । ओली शासनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह समारोह कहिले हुन्छ ?’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us