धनुषा, २४ भदौ– सिन्धुलीको एक विद्यालयमा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर जनकपुरमा आन्दोलन भएको छ ।
जनकपुर–ढल्केवर सडखण्डअन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका–४ सपहीमा स्थानीयले सडक अवरुद्ध गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिकास्थित भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थी १४ वर्षीय रजनिश साह २ भदौमा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीले घटनाबारे मृतकका आफन्तले दिएको किटानी जाहेरी दर्ता गर्न इन्कार गरेको विरोधमा प्रदर्शन गरिएको हो ।
मृतकका बाबु गणेश साहले घटनाको धेरैपछि मात्र आफूहरुलाई जानकारी दिएकाले शंका लागेर जाहेरी दिएको बताए ।
तीन बजे नै छोराको मृत्यु भएको भए पनि ४ बजेतिर मात्र आफूलाई विद्यालयबाट फोन गरेर बेहोस भएको जानकारी दिइएको उनले बताए ।
सिन्धुलीमा उपचार सम्वभ नभएपछि धुलिखेल लाँदै गरेको खबर आएकामा राति मात्र आफूले छोराले सुसाइट गरेको थाहा पाएको उल्लेख गरे ।
आफू राति २ बजे धुलिखेल अस्पताल पुग्दा छोराको मृत्यु भइसकेको पाएको उनको भनाइ छ । घटनाको दिनको सिसीटिभी फुटेज देखाउन माग गर्दै नदेखाइएको भन्दै साहले आक्रोश पोखे । सिन्धुली प्रहरीले छोराको पोष्टमार्टम रिपोर्टसमेत दिन नमानेको गुनासो उनको छ ।
प्रहरीले वकिल र चिकित्सक लिएर आए मात्र रिपोर्ट दिने बताएको साहले जनाए । पीडित परिवार आइतबार विद्यालयका संचालक, प्रिन्सिपल र वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।
तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेको बताए ।