पूर्वी नाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

काठमाण्डु टुडे २०८१ भदौ १६ गते ७:२५ मा प्रकाशित

झापा, १६ भदौ– पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार ७४१ दशमलव ६५ मेट्रिक टन खुदो बंगलादेश निर्यात भएको हो ।

‘चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार ५५५।६ मेट्रिक टन अर्थात पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बंगलादेश निर्यात भएको थियो ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन् ।

उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने उनी बताउँछन् ।

आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us