नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

काठमाण्डु टुडे २०८३ साउन १ गते २२:०२ मा प्रकाशित

काठमाडौं- लोकतन्त्र, सुशासन र नागरिक आन्दोलनका अग्रणी अभियन्ता तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ ।

८७ वर्षीय पाण्डेको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे परिवारकै साथमा निधन भएको हो ।

क्यान्सरबाट पीडित उनी केही समयदेखि घरमै आराम गरिरहेका थिए ।

उनी केही दिनअघि ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि परिवारले अन्तिम समय घरमै राख्ने निर्णय गरेको थियो ।

नागरिक अभियन्ता विमल अर्यालका अनुसार पाण्डेको अन्त्येष्टि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिनेछ ।

पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलन, सुशासन र आर्थिक नीतिका क्षेत्रमा प्रभावशाली बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए ।

२०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
त्यसअघि उनी नेपाल सरकारको प्रशासनिक सेवामा आबद्ध हुँदै १९७८ देखि १९८० सम्म अर्थसचिव बनेका थिए ।

अर्थतन्त्र र सार्वजनिक प्रशासनमा उनको योगदानका कारण उनी नेपालका उत्कृष्ट अर्थसचिवमध्ये एक मानिन्छन् ।

२०६२/६३ को जनआन्दोलनका बेला राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध नागरिक तहबाट सञ्चालन भएको आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए । लोकतन्त्र, मानव अधिकार, सुशासन, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी राज्य व्यवस्थाका पक्षमा उनी जीवनभर सक्रिय रहे !
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहेका पाण्डे सार्वजनिक जीवनमा इमानदारी, पारदर्शिता र जवाफदेहिताका बलिया पक्षधर थिए ।

अर्थनीति, विकास, लोकतन्त्र र सुशासनका विषयमा नेपाली तथा अंग्रेजी भाषामा उनका दर्जनौँ पुस्तक प्रकाशित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us