डडेल्धुरामा जिप दुर्घटना: दुईको मृत्यु, तीन जना घाइते

काठमाण्डु टुडे २०८३ साउन २ गते ८:३७ मा प्रकाशित

डडेल्धुरा — भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिबार बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही ठाउँकी अन्दाजी २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता भास्कर चन्दले जानकारी दिए ।

घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल र जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय अमृत घरेडी रहेका छन् ।

प्रहरीका अनुसार चालकको अवस्था सामान्य छ भने अन्य दुई घाइतेको अवस्था मध्यम छ। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार जिप भीमदत्त राजमार्गबाट करिब ३०० मिटर तल खसेको हो ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us