काठमाण्डु, ११ भदौ– आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरूको सरकार भएको दाबी गरेका छन । आज मंगलबारदेखि काठमाण्डुमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन । उनले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने समेत बताए ।
प्रमुख पार्टीका शीर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप पनि उनले लगाएका छन । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रूपमा चल्न नसकेको गुनासो गरेका छन ।
राज्यको मातहत रहेका संस्थाहरूलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाएका छन । उनले भने, ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ ।
जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन ।
जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईँहरूबाट रु यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।’ वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनअन्दोलनको आवश्यकता रहेको बताएका छन । आम जनता पार्टीको केन्द्रीय समितिको बैठक मंगलबार र बुधबार चल्ने कार्यतालिका रहेको छ ।