सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको आरोप लगाएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले विभिन्न काण्डमा एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको पनि बताएका छन ।

प्रचण्डले भने, ‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ ।

त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ, ‘तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन ।

लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको उल्लेख गर्दै उनले भने– ‘तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनुपर्ने प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us