काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि हुन लागेको निर्वाचनको मतदान साढे ५ बजेका लागि सरेको छ ।
मंगलबार दिउँसो ३ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ साढे ५ बजेका लागि सरेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान हुन लागेको एकीकृत समाजवादीले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदा वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन । यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । उसो त केन्द्रीय कमिटीसमेत एकीकृत समाजवादीले केही अघिमात्रै टुंगो लगाएको थियो ।