सरकारी अस्पतालमा सेवा लिन समेत घुस खुवाउनुपर्छ: रास्वपा सांसद झा

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– रास्वपाका सांसद मनिष झाले सरकारी अस्पतालमा सेवा लिन समेत घुस खुवाउनुपर्ने अवस्था रहेको बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद झाले यस्तो अवस्था रहेको बताएका हुन ।

उनले कुनै बालक जन्मिएपछि उसको जन्मदर्ता हुने, शिक्षा पाउने, असल वातावरणमा हुर्कने र दक्ष जनशक्तिको रुपमा देखा पर्न र रोजगारी लगायतका अवसर पाउनुपर्ने पनि बताएका छन ।

कुनै पनि मानिसका लागि जीवनको सबै कालखण्डमा चाहिएको सामाजिक सुरक्षा, स्वास्थ्य लगायत राज्यले दिने सबै सार्वजनिक सेवा सहज हुनुपर्ने पनि उनले बताएका छन ।

यो नेपालको हकमा परिकल्पना गर्ने विषय जस्तो मात्रै हुन पुगेको उनको दाबी छ । रास्वपा सांसद झाले भने, ‘ जन्मिन्छ । जन्मिएपछि गएको सरकारी अस्पताल हो भने बेड पाउन सक्दैन्, औषधि पाउन सक्दैन्, कुर्नुपर्छ, घुस खुवाउनुपर्छ, सरकारले सित्तैमा खुवाउछु भनेको औषधिको लागि पैसा तिर्नुपर्छ ।’

कुनै बालक स्कुल पढ्न जाँदा उसको नामा सरकारले खाजाको लागि बजेट विनियोजन गर्ने गरेको उनले बताए । ‘तर विद्यार्थीको खाजाधरीमा भ्रष्टाचार भइरहेको छ’ सांसद झाले भने ।

युवा भएपछि रोजगारी, स्वच्छ हावापानी, रोजगारी आदिमा समस्या रहेको उनले बताएका छन । उनले भने, ‘राज्यले उपलब्ध गराउने कुनै रोजगारीको परिकल्पना गर्छ भने त्यहाँ पनि भ्रष्टाचार छ, घुस खुवाउनुपर्छ । यो देशमा मैले रोजगारी पाउँदिन, विदेश जान्छु भन्दा पनि घुस खुवाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us