काठमाण्डु, ११ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा जानकारी गराएका छन ।
मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन नसकेको बताएका हुन । बैठकमा उनले सुशासनका मुद्दा उठाउँदा प्रतिशोध साँधेर आफू माथि सत्ता पक्ष लागेको आरोप लगाएका लागाएका छन ।
बैठकमा लामिछानेले राखेको धारणा उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मैले खोजेको जवाफ पाएको छैन । हामीले भने जवाफ दिइरहनु परेको छ । अरु राजनीतिक दलका नेता मुछिएका प्रकरणमा मलाई जस्तै किन सोधपुछका लागि बोलाइँदैन ?’ सभापति लामिछानेले संसदीय छानबिन समितिमा दिएको जवाफका बारेमा केन्द्रीय सदस्यहरुलाई समेत जानकारी गराएका छन ।
समितिले सोधेका ५१ प्रश्न र जवाफ समेटिएको सामग्रीलाई पार्टी अभिलेखमा राख्ने जानकारी लामिछानेले गराएका थिए । ‘प्रतिवेदन पार्टीको अनुशासन आयोगमा दर्ता गराउने र दस्तावेजीकरण गर्ने अभ्यासलाई निरन्तरता दिने कुरा भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । गत शुक्रबार संसदीय छानबिन समितिले लामिछानेसँग ९ घण्टा बढी सोधपुछ गरेको थियो ।
बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्थानीय तहमा छाया सरकार बनाउने कार्यविधि प्रस्तुत गरेका थिए । उक्त कार्यविधि माथि नेताहरुले सुझाव दिएपछि अर्को बैठकबाट निर्णय गरिने भएको छ । उपसभापति डीपी अर्यालले फरक प्रस्ताव पार्टी बैठकमा राखेका थिए । पार्टीलाई सबल बनाउने उद्देश्यले कार्यविधि प्रस्तुत गरेका थिए ।
अर्यालको प्रस्ताव ‘पार्टी पिलर’ अवधारणासहितको रहेको कार्यवाहक प्रवक्ता झाले जानकारी गराए । ‘पार्टी पिलर भनेर उहाँको अवधारणा छ । पार्टीमा सक्षम व्यक्तिहरुलाई कसरी जोड्न सकिन्छ । कस्तो पृष्ठभूमिको व्यक्तिलाई प्रवेश गराउने बारेमा उहाँको अवधारणा थियो,’ झाले भने । आजको बैठकले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेतबाट निष्कासन गर्ने गर्ने निर्णय गरेको छ ।