पाल्पा,११ भदौ – पाल्पा जिल्लामा आज ऐतिहासिक रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकालिँदै छ । जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको विषेश उपस्थिति हुने छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ ।
नेपाल- अंग्रेज युद्धमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा मनाइएको थियो । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।
युद्द्धमा जानुअघि कर्णेल थापाले रणउजेश्वरी भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप खुसीयालीमा भगवतीको रथलाई वि.स. १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।
कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए । युद्धमा विजय पश्चात उनले बि.स.१८७२ मा निर्माण थालनी गरी तीन तले मन्दिरको बि.स. १८७६ सालमा निर्माण पूरा भएको थियो । विजयी उत्सवका रुपमा शुरु गरिएको रथ यात्रा अहिले पनि निरन्तर निकाल्ने गरिन्छ ।
जात्राको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभकामना सन्देश दिएका छन् । प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि प्रदेशको हिमाल, पहाड र तराई जोड्ने गरी १२ जिल्लामा पर्यटन सर्किटको विकास गर्न सरकारले तयारी गरेको मन्त्री आचार्यले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।