काठमाण्डु, १० भदौ– गौरा पर्वको अवसरमा काठमाण्डुको टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा आफूहरुविरुद्ध नाराबाजी गर्ने युवाको समूहलाई प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन् ।
लोकतन्त्रमा शान्तिपूर्ण विरोधको अधिकार हुने भए पनि प्रमुख सत्तारुढ घटकका दुई शीर्ष नेता युवा समूहप्रति नै जाइलागे । कार्यक्रममा ओली र देउवाविरुद्ध दर्षकदीर्घाबाट नाराबाजी भएको थियो । युवा समूहले ओली र देउवालाई ढुंगा र बेलुन प्रहार गर्न भनेको थियो । कार्यक्रममा देउवा र ओलीका साथै मन्त्रीहरु पनि सहभागी थिए । ओलीले बहुसांस्कृतिक र शान्तिप्रेमी समाज बिथोल्ने र भड्काउने प्रयास सफल नगर्न युवाहरुलाई चेतावनी दिए । उनले त्यस्तो प्रयास सफल हुन नदिइने पनि बताए । नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीको भनाइ थियो ।
देउवाले भने युवाहरुलाई बदमासको संज्ञा दिए । उनले कार्यक्रम बिथोल्न खोजिएको भन्दै नेपालमा यस्तो चलन स्वीकार्य नहुने बताए । देउवाले हुलहुज्जत गर्नेलाई ठीक पार्नुपर्ने चेतावनी पनि दिए । ‘तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन । गौरा पर्वको कार्यक्रम बिथोल्ने ? यही हो नेपालको चलन ?, बदमासहरू’, देउवाले भने ।