प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाण्डुको नयाँ भवनको उद्घाटन

काठमाण्डु टुडे २०८१ भदौ १० गते १४:४४ मा प्रकाशित

काठमाण्डु, १० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाण्डुको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आज सोमबार काठमाण्डुको भद्रकालीस्थित बनेको नवनिर्मित भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १५ रोपनीमा बनेको परिसरको भवनमा असार ३० गतेदेखि नै काम कारबाही अघि बढिसकेको थियो ।

२०१२ सालदेखि परिसरको काम कारबाही बसन्तपुरको हनुमानढोकास्थित भवनबाट हुँदै आएको थियो। तर २०७२ साल वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको प्रहरीको भवन जीर्ण बनेको थियो। उक्त भवन जीर्ण भएपछि परिसरको भवन टेकुस्थित नेसनल ट्रेडिङको भवनमा सरेको थियो ।

इन्जिनियर एवं एसएसपी रामकुमार चौधरीका अनुसार २०७६ सालमा असार १० गते नेपाल खाद्य संस्थानबाट उक्त जग्गा एक अर्ब २० करोड रुपैयाँमा जग्गा खरिद गरिएको थियो । काठमाण्डुको केन्द्रमा रहेको यो भवनलाई सुहाउँदो डिजाइन अनुसार नै निर्माण प्रक्रिया अघि बढाएको उनले जानकारी दिएका छन ।

१५ रोपनीमध्ये ६०.८५ प्रतिशत जग्गा खुला हुने गरी डिजाइन गरिएको पनि उनले बताए । भवनको निर्माण दुई चरणमा गरिएको उनले जानकारी दिएका छन । पहिलो चरणमा लुम्बिनी समानान्तर जेभीले स्ट्रक्चर र केही फिनिसिङको काम गरेको थियो । दोस्रो चरणमा बाँकी रहेको फिनिसिङको काम, रिसेप्सन, क्यान्टिन, ल्यान्डस्केपिङ, हिरासत ब्लक लगायत विद्युतीय कामको बुद्ध पशुपति शिवजी जेभीले तोकिएको समयमै काम गरेको एसएसपी चौधरीले जानकारी दिएका छन ।

यसको कुल लाख एक अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रुपैयाँमा सम्पन्न भएको उनले जानकारी दिए । नवनिर्मित संरचनामा दुई वटा लिफ्ट, अपांगमैत्री बनाउन र्‍याम्प, ५२ वटा कार्यकक्षहरू, २१ वटा क्युबिकल्स, जुनियर प्रहरी अधिकृत देखि जवानसम्मका लागि ४०० क्षमताको ब्यारेक, ३३० क्षमताको हिरासत, २५ जनाको सिनियर प्रहरी अधिकृत र कार्यालय प्रमुख आवासको व्यवस्था गरिएको छ ।

भवनको बेसमेन्टमा ५७ वटा चार पांग्रे र २३० वटा मोटरसाइकल पार्किङको क्षमता रहेको छ । डिप बोरिङ, वाटर ट्रिटमेन्ट प्लान, सोलार हिटर, जेनेरेटर लगायतका सुविधा पनि बनाइएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us