काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन ।
आज आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका छन ।
‘जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौं’, उनले भने, ‘पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ ।’ त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्ने उनले बताएका छन ।
उनले थपे, ‘यहाँ सारा वातावरण बिगार्छ भने त्यस्ता व्यक्तिलाई विदा गरौं, ‘घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् ।’ पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उनले अरु नेताहरुलाई समेत चेतावनी दिए । ‘त्यस्ता व्यक्तिहरुसँग बसेको देख्यो भने पनि ठीक हुने छैन’, अध्यक्ष नेपालले चेतावनी दिए ।