विज्ञबाट इन्टेरियर डिजाइन सिक्दै विद्यार्थी

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १३:५८ मा प्रकाशित

काठमाण्डू, ९ भदौ– राजधानीको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजले इन्टेरियर डिजाइन मा नवीनता (इनोभेसन इन इन्टेरियर डिजाइन) विषयमा विद्यार्थी र विज्ञबीच छलफल आयोजना गरेको छ ।
उक्त कलेजको ब्याचलर अफ इन्टेरियर डिजाइन विभाग (बीआईडी) ले विद्यार्थीहरुमा सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा इन्टेरियर डिजाइन क्षेत्रमा नवीनता र नयाँ सोचबारे गहन छलफल भएको कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीले बताए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयको बीआईडी पाठ्यक्रम समितिकी अध्यक्ष प्राध्यापक डा. मधुरा कार्कीले इन्टेरियर डिजाइनको क्षेत्रमा नवप्रवर्तन र सिर्जनशीलता जरुरी रहेको बताइन् । इन्टेरियर डिजाइनको क्षेत्रमा परिर्वनको खाँचो रहेकामा जोड दिँदै उनले त्यस क्षेत्रका पेशेवर र अध्यताहरुले नयाँ चुनौतीको सामना गर्नुपर्ने उलेख गरिन् ।
कार्यक्रममा ब्रिटिश एकेडेमी अफ आर्ट्स एन्ड डिजाइनकी सीईओसमेत रहेकी इन्टेरियर डिजाइनर तथा प्रशिक्षक सन्दिपा तामाङले सो क्षेत्रमा सिर्जनशीलता र निरन्तर सिकाइ जरुरी रहेको बताइन् । उनले इन्टेरियर डिजाइनमा रोजगारीको पर्याप्त अवसर रहेकाले नयाँ पुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गरिन् ।
तामाङ सोही कलेजकी पूर्वविद्यार्थी हुन् ।
सामाजिक विज्ञान विषयकी अनुसन्धाता एवं बाक्खन न्यान वाःकी सह–संस्थापक बिनिता मङ्गैयाले इन्टेरियर डिजाइनलाई परम्परागत नेपाली शैली अपनाएर नयाँ रुप कसरी दिन सकिन्छ भन्नेबारे चर्चा गरिन् ।
चीनको बेइजिङस्थित त्सिङ्ह्वा विश्वविद्यालयमा इन्टेरियर डिजाइनिङ विषय अध्ययन गरेकी बिवा जोशीले डिजाइनलाई प्रविधियुक्त र दिगो कसरी बनाउन सकिन्छ भन्नेबारे अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा कन्सेप्सन इन्टेरियर प्रा.लि. की निर्देशक तेजिता वैद्य अमात्य र आइडिया नेपालकी उपाध्यक्ष उषा रायमाझीले ग्राहकहरुको अपेक्षाअनुसार सिर्जनात्मकता र नवप्रवर्तनमार्फत नेपालमा डिजाइन क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्नेबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कलेजका दोश्रो, चौथो, पाचौं र छैठौं सेमेस्टरका विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागी पाचौं सेमेस्टरकी विद्यार्थी स्वस्तिका थापाले अध्ययनसँगै यस्ता कार्यक्रमहरुले व्यवहारिक ज्ञान बढाएको बताइन् । कार्यक्रममा घर, अफिस, होटल तथा रेष्टुरेण्टलाई भित्री लेआउट, रङ, फर्निसिङ र बिरुवाहरुको संयोजनमार्फत आकर्षक ढंगले कसरी सजाउने भन्ने विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर होटल म्यानेजमेन्ट एन्ड इन्टेरियर डिजाइन कलेजले इन्टेरियर डिजाइनिङ कोर्स पढाउँदै आएको छ । नेपालमा कान्तिपुरसहित दुईवटा कलेजले उक्त विषय अध्यापन गराउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us