ठमेलबाट झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित एक विदेशी नागरिक पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– प्रहरीले झन्डै ४ करोड मूल्य बराबरको लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आईभोरी कोष्टका नागरिक भमरा कोन रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले आइतबार जानकारी दिएका हुन ।

गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाण्डु आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।

निज उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us