काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।
सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार बताइएको छ ।
काठमाण्डुबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार रहेका थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।