नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना छ: जनार्दन शर्मा

काठमाण्डु टुडे २०८१ साउन २३ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २३ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं टीआरसी कार्यदल सदस्य जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना रहेको बताएका छन ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बुधवार शीर्ष नेतालाई बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपालबाट अन्य द्वन्द्वग्रस्त मुलुकले पनि सिक्न सक्ने विश्वास पनि व्यक्त गरेका छन ।

उनले भने, ‘यो सहमति ऐतिहासिक महत्त्व छ । समृद्धि र विकासको मुद्दा अगाडि बढाउन शान्ति आवश्यक थियो । यही विश्वासका साथ हामी निष्कर्षमा पुगेका छौँ । सहमतिमा पीडित केन्द्रित बनाएका छौँ । मेलमिलापको बाटो पनि हामीले ध्यान दिएका छौँ ।

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना छ ।’ कार्यदलमा द्वन्द्वको क्रममा भएको समस्याहरू समाधान गर्न कार्यदलले पीडितलाई केन्द्रमा राखेर सरकार, दलका नेताहरू र समितिका सभापति लगायतका सहयोगमा सहमति भएको शर्माले जानकारी दिएका छन ।

उनले थपे, ‘मिल्न सक्ने जति कुरा मिलाएर यसको गम्भीरता र महत्वलाई हामीले हेर्यौं । यी चार विषय नटुङ्गिँदा शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय जगतको जुन धारणा थियो, त्यसलाई बदल्ने प्रयास गरेका छौँ ।

त्यसैले यो ऐतिहासिक महत्त्व छ । समृद्धि र विकासको मुद्दा अगाडि बढाउन शान्ति आवश्यक थियो । यही विश्वासका साथ हामी निष्कर्षमा पुगेका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us