काँग्रेस–एमालेलाई प्रचण्डको चेतावनीः बंगलादेशको घटनाबाट पाठ सिक

काठमाण्डु टुडे २०८१ साउन २२ गते ८:३६ मा प्रकाशित

विराटनगर, २२ साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ काँग्रेस–एमाले नेतृत्वलाई बंगलादेशमा हालै विकसित राजनीतिक घटनाक्रमबाट सचेत हुन चेतावनी दिएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनअधिकार कटौती भए काँग्रेस–एमालेका लागि राम्रो नहुने चेतावनी दिएका हुन् । जनताका अधिकार कटौती हुने गरी संविधान संशोधनको दुस्साहस नगर्न प्रचण्डले सचेत गराए । सञ्चारकर्मीले सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेको घटनाबारे प्रचण्डको धारणा मागेका थिए ।

आगामी परिस्थितिको जिम्मेवारी काँग्रेस–एमालेले लिनुपर्ने उनको भनाइ थियो । आफूसँग बहुमत भएकाले जे गरे पनि हुन्छ भन्ने ठानिए शासकहरुका लागि दुर्भाग्यपुर्ण अवस्था आउने चेतावनी उनले दिए । ‘मैले बंगलादेशको अवस्थाबारे धेरै बुझ्न त पाएको छैन । तर म यत्ति चाहिँ भन्छु, हामीसँग बहुमत छ, जे गरे पनि हुन्छ भनेर शासकहरूले ठानियो भने दुर्भाग्यपूर्ण हुनेछ भन्ने नेपाली शासकहरूले बुझ्दा हुन्छ’, उनले भने ।

प्रचण्डले वर्तमान सरकार दलाल र बिचौलियाहरुले चलाइरहेको आरोप लगाए । राज्यलाई अर्बौं नोक्सानी हुने गरी विद्युत महसुल बक्यौता छुट दिने तयारी भइरहेको भन्दै उनले सरकार र लेखा समितिलाई त्यसतर्फका गलत गतिविधि रोक्न आग्रह गरे ।
‘जसको सिता खाई, उसैको गीता गाई भन्ने हुन्छ । सरकार र लेखा समिति सभापतिको बाटो गलत छ । विद्युत महसुल छुट दिने दुस्साहस सरकारले नगरोस्’, उनले भने । फरक प्रसंगमा प्रचण्डले संसदको सार्वजनिक लेखा समितिको सभापति छाडेन एमालेलाई आग्रह गरे । संसदीय परम्पराअनुसार लेखाको सभापति प्रमुख प्रतिपक्षी दलबाट हुनुपर्ने उनको भनाइ छ ।

जनताको अधिकार कटौती गर्ने गरी संविधान संशोधन गर्ने तयारीमा काँग्रेस–एमाले रहेको भन्दै उनले त्यो उनीहरुका लागि महंगो पर्ने बताए । आफूहरु पनि संशोधनको विरोधी नभएको तर जनअधिकार कटौती हुने गरी संशोधन गर्न खोजिए प्रतिवाद हुने चेतावनी दिए ।
‘हामी पनि संविधान संशोधनका विरोधी होइनौं’, उनले भने, ‘तर कांग्रेस र एमालेले गर्न खोजेको संविधान संशोधन र हामीले चाहेको संशोधन फरक हो । यसमा १८० डिग्रीको फरक छ ।’

आफूहरु राज्यका निकायहरु थप समावेशी बनाउन संविधान संशोधनको पक्षमा रहेको तर काँग्रेस–एमाले अहिले भएको समावेशीताको व्यवस्थाबाट पछि हट्ने चाहनाबाट अग्रसर रहेको बताए ।

दुई पार्टी प्रणालीको नाममा पश्चिमा लोकतन्त्रको नक्कल गर्ने दुस्साहस गरिएको भन्दै उनले नेपालमा त्यो सम्भव नहुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us