आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद सोविता गौतमले सरकारलाई गराइन् ध्यानाकर्षण

काठमाण्डु टुडे २०८१ साउन २१ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २१ साउन– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएकी छन ।

उनले भनीन्, ‘ आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ । त्यसक्रममा कागेश्वरी मनहरा ६ मा रहेको मनकामना टोलमा पुगेँ । मुलपानी क्रिकेट स्टेडियमबाट अपोजिट साइडमा रहेको डाँडातिर एउटा मन्दिरजस्तो छ ।त्यो मन्दिरको मुनितिर एउटा घर र चिया पसल छ । त्यो कटेपछि गाउँ समाज छ । म त्यहाँ जाँदै सुरुमा मलाई पहिरो देखाउन केही स्थानीयहरू चिया पसलमा कुरेर बस्नुभएको थियो ।

त्यसपछि हामी त्यो पहिरो भएको ठाउँमा पुग्यौ । र, त्यहाँबाट फर्केर आउने क्रममा त्यो चिया पसलमा १५,२० जना मानिस जम्मा भइसक्नुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो ।

म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने रु भन्दै प्रश्न गरियो । र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो । मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो ।

त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो । मलाई दुर्व्यवहार गर्ने शैलीमा । त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ । तर घर गएपछि भिडियो हेर्दा मेरो मात्र भिडियो पोस्ट गरिएको रहेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us