काठमाण्डु, २१ साउन– सवारी साधन चेक जाँच गर्ने क्रममा सिन्धुलीमा भारतीय नागरिकले ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका छन । सिन्धुलीको हिरापानी भन्ने स्थानमा नियमित चेकजाँच चलिरहेका बखत भारतीय सवारीमा आएका ५ जनाले चेकजाँचका क्रममा अटेर गर्दै ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका प्रहरीले जानकारी दिएको छ ।
राजमार्ग क्षेत्रमा नियमित रूपमा हुने चेकजाँचका क्रममा भारतीय गाडीमा आएका ५ जनाले डियटीमा खटिएका सहायक प्रहरी हवलदार सन्तोष नारायण दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गत साउन १२ गते कमलामाई नगरपालिका–४ हिरापानी चेक पोस्टमा खटिएका दासलाई भारतीय नागरिकहरूले नियन्त्रणमा लिएर गाडीभित्र हालेर हिँडेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका छन । उनका अनुसार डुग्रेबास प्रहरी चौकीबाट टोली खटिई नियमित रूपमा २४ घण्टा सो स्थानमा चेकजाँच हुने गर्दछ ।
सोही क्रममा साउन १२ मा धार्मिकस्थल दर्शन गर्न निलो रङको बिआर–२२–एपी ७३२१ नम्बरमा आएका ५ जनालाई चेकजाँच गर्ने क्रममा दाशलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिएका छन । सिन्धुलीको चियाबारी नजिकै रहेको चेकजाँच स्थलमा सो गाडीमा आएका ६ जना भारतीयले चालकको बायाँ तर्फको झ्यालबाट प्रहरी सहायक हवलदार दासलाई जबरजस्ती भित्र तानेका थिए ।
चेकजाँचको सुरुवात देखि नै शङ्कास्पद हर्कत गरी रहेका उनीहरुले मादक पदार्थ सेवन गरी प्रहरीलाई कागजपत्र नदिने जिस्कने हेप्ने जस्ता क्रियाकलाप गरिरहेका थिए । मापसे चेकिङ गरिरहेका दासलाई गाडीभित्र हालेर उनीहरू भागेका थिए ।
चेकिङ स्थलमा रहेका अन्य प्रहरीले घटना देखेपछि गाडी रोक्न प्रयास गरे पनि उनीहरू भागेका थिए । सो लगत्तै चेकिङस्थलमा रहेका अन्य प्रहरीले मोटरसाइकलमा पिछा गरेर विपरीत दिशाबाट आएको सवारीको मद्दतबाट उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिएका छन ।