कर्णाली सरकारमा दैलेखबाटै तीन मन्त्री

काठमाण्डु टुडे २०८१ साउन २१ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २१ साउन– कर्णाली सरकारमा दैलेखबाट तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका सांसदले मन्त्री बन्ने मौका पाएका छन ।

मन्त्री बन्नेमा दैलेख–२ (१) को सांसद घनश्याम भण्डारी, २ (२) का विनोदकुमार शाह र २ (२) बाटै गमता विक मन्त्री बनेका छन् । भण्डारी र शाह प्रत्यक्षतर्फबाट निर्वाचित सांसद हुन् भने विक समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

यी तीनै जना यामलाल कँडेल नेतृत्वको सरकारमा छन् । जसमा भण्डारीले आइतबारमात्रै सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेका छन् भने शाह गत जेठ २ गते नै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका हुन् ।

यस्तै विक भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री हुन् । उनले वैशाख १८ गते राज्यमन्त्रीको शपथ लिएकी थिइन् । भण्डारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने शाह र विक एमालेबाट प्रतिनिधित्व गर्दछन् ।

स्रोतका अनुसार विकलाई मुख्यमन्त्री कँडेलले सरकारमा महिला सहभागिताका लागि मात्रै राज्यमन्त्री बनाएका हुन् । सामान्य प्रौढ शिक्षामात्रै लिएकी विक पश्चिम दैलेखको आठबिस नगरपालिका–१ की हुन् ।

मुख्यमन्त्री कँडेलले कानुन मन्त्रालय आफूसँग राखेर विकलाई राज्यमन्त्री बनाएका थिए । प्रदेश सभामा दैलेखबाट ६ जनाले प्रतिनिधित्व गरेका छन् । तीमध्ये अहिलेको सरकारमा तीन जना मन्त्री बनेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us