काठमाण्डु, २१ साउन– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने तयारी गरेका छन । त्यसका लागि उनले शनिबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेमा छन ।
मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिदैँ छन । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए ।
त्यो बेला उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मत दिएको थियो । साउन १७ मा केन्द्रमा बदलिएको सत्ता समीकरणसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।
अहिले यहाँ एमाले–कांग्रेसबिच सत्ता समीकरण बनेको छ । आइतबार मात्रै नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ । ४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १० र कांग्रेसको १५ सांसद रहेका छन् ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा रहेसँगै १४ जना सांसदले मुख्यमन्त्रीलाई मत दिनेछन् । यस्तै यहाँ एकीकृत समाजवादी र राप्रपाको १–१ सांसद रहेका छन ।