काठमाण्डु, २० साउन– मोरङको रङेली नगरपालिका–२ चेका पुलमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट साइकल यात्री धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिएको हो । विद्यार्थी लिन गएको उक्त बसले ठाकुरलाई बिहान ९ः४५ बजेतिर बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङेली अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन ।
उनको शवलाई पोस्टमार्टमका लागि रङेली अस्पतालमै राखिएको छ । बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले जानकारी दिए ।
बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।