मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन: जनताका काममा ढिलासुस्ती नहोस्

काठमाण्डु टुडे २०८१ साउन १५ गते १९:४२ मा प्रकाशित

काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरुलाई २ दर्जनभन्दा बढी निर्देशनहरु दिएका छन ।

आज मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै मूलभूत रुपमा २६ वटा कामहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

सचिवहरुलाई निर्णय गर्न नडराउन आवश्वस्त पार्दै प्रधानमन्त्रीले वर्तमान सरकारलाई ‘हनिमुन पिरियड’को समेत सुविधा नभएको बताएका छन । उनले मूलभूत रूपमा गर्नुपर्ने कामहरूबारे लामो निर्देशनात्मक भाषण गरेका छन । ‘जनताका काममा ढिलासुस्ती नहोस् । कामको भरसक डुप्लीकेसन नहोस्’, प्रधानमन्त्रीले भने, ‘समन्वयहीन ढंगले काम नहोस् ।’

उनले मन्त्रालयमा कतिपय समितिहरू बन्ने तर ती समितिहरूले काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए । ‘समितिहरू बन्छन्, त्यसमा ५–६ जना सचिव र सहसचिव रहन्छन् तर त्यहाँ काम हुँदैन’, उनले भने, ‘मन्त्रीले सचिवलाई वा क–कसलाई अधिकार दिनुपर्छ अधिकार प्रत्यायोजन गर्ने, देश र जनताको हितको पक्षमा संविधान अनुसार काम गर्ने ।’

प्रधानमन्त्रीले सरकारी तनाखा खानेहरूले मिटिङ भत्ता नलिन निर्देशन दिँदै मितव्ययी हुनसमेत सचिवहरूलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले सरकार परिवर्तनबारे लामो प्रष्टीकरण दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us