काठमाण्डु, १५ साउन– भक्तपुरको सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जानकारी दिएको छ ।
मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो ।
स्थानीय अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताएकी छन । स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताएकी छन ।
यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्याएको स्थानीयले बताएका छन् । कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ ।
स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए ।
खोलामा करिडोर बनाउन वर्षौंदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको स्थानीयको आरोप छ । खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने माग राखे ।