
काठमाण्डु, ३० असार– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ ।
नेप्से २ दशमलब ४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेर कारोबार बन्द भयो । यो दुई वर्ष यताकै उच्च बिन्दु हो । २०७९ जेठ ४ गते नेप्से यही बिन्दुमा थियो । यस्तै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । बिहीबार ७ अर्ब ८ करोड छ लाख ९८ हजार १ सय ४६ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ७ अर्ब ६२ करोड चार लाख ९८ हजार ५ सय २० रूपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार रकम पनि पाँच महिनायताकै उच्च हो । यसअघि गत माघ ७ गते बजारमा सात अर्ब ६७ करोड बराबरको सेयर कारोबार भएको थियो । ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर किनबेच भष्यो ।
२ सय १ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर छ । अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ ।
रिडी पावर, माण्डु हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावरको मूल्य सर्किट लेभलमा बढेको छ।