कांग्रेस–एमाले गठबन्धनलाई लोसपाले पनि साथ दिने

काठमाण्डु टुडे २०८१ असार १९ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, १९ असार–लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको लोसपाका एक नेताले जानकारी दिएका छन ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

हिजोको बैठकमा सभापति देउवाले एमालेको साथमा नयाँ गठबन्धन बनाउने सहमति भएको र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको बताएका थिए ।

छलफलमा उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा एमालेले आफ्नो मन्त्री फिर्ता बोलाएर प्रक्रियामा केपी ओलीको नेतृत्वमा सरकार गठन हुने भनेका थिए । गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए ।

विपक्षी गठबन्धनमा रहेका लोसपा, जसपा नेपाल, राप्रपालगायत दलले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने प्रतिबद्धता जनाएको कुरा अध्यक्ष ठाकुरले बैठकलाई जानकारी गराएको सो पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us