बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छः मनिष झा

काठमाण्डु टुडे २०८१ असार १९ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १९ असार– रास्वपाका सहप्रवक्ता मनिष झाले रास्वपा महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको जानकारी दिएका छन ।

आज (बुधबार) रास्वपा केन्द्रीय बैठकपश्चात् उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेटमेन्टका कुराहरू हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्वीकार भएको जानकारी दिएका छन । उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि छलफल हुन्छ । कहीँ रोकिएको छैन ।

तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रूपमा धेरै कुराहरू संवेदनशील हुन्छन् । भूराजनीतिक सम्बन्धी कुराहरू साथै व्यक्तिगत स्टेटमेन्ट हुन सक्छन् ।

यस्ता कुराहरूको जोखिम हामी मोल्न सक्दैनौँ । पहिला छलफल गरौँ अनि मात्र लाइभ गरौँ भनेर राजनीतिक र व्यवहारिक रूपमा हेरेका हौँ । सभापतिले त्यसमा सहमति जनाउनु भए पनि त्यो उहाँको व्यक्तिगत कुरा हो । प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ ।’

उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दीहरू नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने पनि जानकारी दिएका छन । उनले भने, ‘आजको बैठकमा हामीले एउटा मात्र एजेन्डामा छलफल गरिरहेका छौ त्यो महामन्त्रीको प्रतिवेदन हो ।

प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिदैँन । तर अरू पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ । हामी गुटबन्दीमा पनि छैनौँ । आवश्यक समय दिएर उहाँको प्रतिवेदनमाथि छलफल भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us