प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ: महामन्त्री शर्मा

काठमाण्डु टुडे २०८१ असार १९ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, १९ असार– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने दुवै सविधा रहेको बताएका छन ।

आज (बुधवार) पार्टी बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले साँझसम्म एमालेले सरलाई दिएको समर्थन फिर्ता लिने पनि बताएका छन ।

उनले भने, ‘एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्रीलाई दुई वटा विकल्प छ । एउटा छोडेर निकास दिने विकल्प छ । समर्थन फिर्ता लिँदैमा छोड्नै पर्छ भनेर संविधानले भनेको छैन ।

सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिन पनि पाउनुहुन्छ । उहाँले जुन विकल्प रोज्दा पनि नयाँ कोर्समा राजनीति बढ्दैछ ।

यसमा चुनौती पनि छ, यसमा एकताबद्ध भएर हामी सामना गर्नेछौँ ।’ उनले संविधान सशोधनको कुरा आए पनि संशोधन गर्न चुनौती रहेको बताए ।

कांग्रेस र एमालेको अङ्कले मात्र नपुग्ने र दुई तिहाइ १८१ सिटका लागि अरू दललाई पनि सहमतिमा ल्याउनुपर्ने चुनौती रहेको पनि बताएका छन ।

उनले भने, ‘४ महिनामै सरकार बदलिने सुखद हैन तर परिस्थितिको माग भयो । आम नागरिकमा पनि दुइटा ठुला पार्टी मिलेर स्थिरता दिउन्, आर्थिक सङ्कटको सामना गरुन्, संविधानमा जे जस्तो कमजोरी छ, नागरिकको भावना बमोजिम त्यसको संशोधन गरौँ आम रूपमा रहेको अपेक्षालाई पूरा गर्न खोजेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us