काठमाण्डु, १९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई आफ्नो प्रस्ताव पेश गर्ने अनुमति नदिएको रास्वपा स्रोतले जानकारी दिएको छ ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज सभापति लामिछानेले रोकिदिएका हुन ।
महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएका हुन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे । महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरेका थिए ।
प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको छ । खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने रास्वपा स्रोतले जानकारी दिएका छन ।
महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन ।