कांग्रेस र एमाले संविधान संशोधनमा सहमत हुनु स्वागतयोग्य: राप्रपा

काठमाण्डु टुडे २०८१ असार १८ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १८ असार– कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राप्रपाले सकारात्मक रुपमा लिएको छ । दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक बोलाएको थियो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन । राप्रपाले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भन्दै आएको बताउँदै लिङ्देनले भने, ‘यहीबेलामा नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ ।

त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो ।’ यद्यपि दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको बताएका छन ।

उनले दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले यस विषयमा धारणा बनाउने पनि बताएका छन । उनले भने, ‘बाहिर सतहमा आएका विषय साँच्चिनै सहमतिका विषय हुन् कि होइनन्, त्यसमा कांग्रेस एमाले सहमत छ कि छैन त्यो देखिसकेपछि मात्र हाम्रो धारणा बनाउँछौं ।’

लिङ्देनले दुई ठूला पार्टीहरुबीचको सहमतिले राजनीतिक स्थायीत्व दिने आशा भने आफूहरुमा नरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us