देउवाले प्रचण्डलाई भने– सबै कुरा मिलिसक्यो, अहिलेलाई ‘सरी’

काठमाण्डु टुडे २०८१ असार १८ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, १८ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफल बोलाएका थिए ।

सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा एमालेसँग भएको सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए ।

त्यसपछि नेताहरुले धारणा राखिरहेका थिए । त्यही बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन पुग्यो ।

एक पदाधिकारीका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भएको हो भनी सोधेका थिए ।

देउवालाई फोन गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेवार्ता गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नुभयो, तपाईँले पनि सहयोग गर्नुपर्‍यो’ भनेका थिए । सहमतिबारे ओलीले प्रष्ट नबताएकाले प्रचण्डले देउवालाई फोन गरेका थिए ।

जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us