प्रचण्डको ब्रिफिङ: मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो

काठमाण्डु टुडे २०८१ असार १८ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको दाबी गरेका छन ।

आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो दाबी गरेका हुन ।

उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने पनि बताएका छन ।

संविधानलाई नै डिरेल गर्ने हिसाबले कोसिस भइराखेको छ । प्रचण्डको भनाइ उदृत गर्दै उपमहासचिव हरिबोल गजुरेलले भने, ‘भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखियो ।

माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।’

बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताएका छन । ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।

ओलीसँगको भेटमा राजीनामा नदिने बरु आफूले संसदमा विश्वासको मत फेस गर्ने बताएको पनि प्रचण्डले बैठकमा ब्रिफिङ गरेको गजुरेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us