ओलीले हिजोको भेटमा प्रचण्डलाई भनेका थिए, ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’

काठमाण्डु टुडे २०८१ असार १८ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १८ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग हिजो मात्र भएको छलफल विपरीत कांग्रेससँग सहमति गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार बिहान बालुवाटार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसमक्ष कांग्रेससँगको सहमतिबारे असन्तुष्टि जनाएका हुन ।

माओवादी केन्द्रका एक पदाधिकारीले पार्टी अध्यक्ष प्रचण्डले गरेको ब्रिफिङ सुनाउँदै भने, ‘हिजो अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग यो सहकार्य लामो समय जाने भन्नुभएको रहेछ ।

तर, मध्यरातमा कांग्रेससँग सहमति भयो ।’ त्यही भएर मंगलबार बिहान ओली बालुवाटारमा पुग्ने बित्तिकै प्रचण्डलाई सोधेका थिए, ‘तपाईंले यो के गर्नुभएको ?’ ती पदाधिकारीका अनुसार ओलीले जवाफमा भनेका थिए, ‘केही पनि त भएको छैन ।

कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर सहमति मात्र गरेका हौँ । यसमा तपाईंसँग पनि छलफल गर्ने भनेका छौँ ।’

‘हिजोसम्म ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’ बताउनु भएको अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्रीसँग आफूलाई अब सहयोग गर्न आग्रह गर्नुभएछ,’ ती पदाधिकारीले भने, ‘तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us