प्रधानमन्त्रीले राजीनामा नदिने

काठमाण्डु टुडे २०८१ असार १८ गते ११:५० मा प्रकाशित

काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

काँग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता गठबन्धन गर्ने सहमतिपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।

माओवादी सचिव गणेश साहले प्रधानमन्त्रीले संसद् फेस गर्ने निर्णय भएको बताए । एमालेले समर्थन फिर्ता लिए संसदबाट विश्वास मतको सामना गर्ने उनको भनाइ थियो ।

बैठकले पछिल्लो परिस्थितिबारे काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकले सत्ता गठबन्धन र संविधान संशोधन गर्ने काँग्रेस–एमालेबीचको सहमतिलाई ०४७ सालको संविधान ब्युँताउने प्रयासको रुपमा समेत लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us