उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएपछि…

काठमाण्डु टुडे २०८१ असार १७ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, १७ असार– आज सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्र तरङ्गित भयो ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले तरङ्ग फैलाएको हो । तर, वास्तविकता सोमबार कुनै जहाज हराएको पुष्टि भएको छ । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन ।

दुई वटा जहाज काठमाण्डुमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ ।

दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा रहेको छ । यता काठमाण्डुमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ ।

तर, कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा रहेको छ ।

तारा एयरका सुदर्शन बर्तौलाले सामाजिक सञ्जालमा फैलिएको अफवाहबाट आफूहरू आश्चर्यचकित र तनावमा परेको बताएका छन् । तारा एयरको कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन उनले सबैलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us