काठमाण्डु, १७ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ ।
काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने एक नेताले जानकारी दिएका छन । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ ।
महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । यसैबिच महाधिवेशन सम्पन्न गर्न पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।
त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा. गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन गरीएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ ।
महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूले बताउँदै आए पनि नेताहरूले अडान नछोड्दा अहिलेसम्म सहमति हुने नहुने निश्चित भैसकेको छैन ।
अध्यक्षका लागि माधव नेपालका साथै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी छन् ।