भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई भोलि अदालत पेश गरिने

काठमाण्डु टुडे २०८१ असार १६ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, १६ असार– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष राम बहादुर थापा बादलका छोरा प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ । शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुले आइतबार जिल्ला अदालत काठमाण्डुमा पेश गरेको थियो ।

तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘आज नभ्याउने भएकाले भोलि पुनः अदालत पेश गर्न आदेश भएको छ ।

अब भोलि अदालत पेश गछौं ।’ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि नै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ । १० जेठ २०८० मा मुद्दा दायर भएका ३० प्रतिवादीमध्ये थापासहित केही व्यक्ति फरार थिए ।

यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहितका आरोपीहरु भने धरौटीमा रिहा भएका छन् ।

एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकलाई प्रहरीको विशेष टोलीले शुक्रबार साँझ बौद्धबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us