काठमाण्डु, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीसँग एकताको प्रयास जारी रहेको बताएका छन ।
आज (आइतबार) एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले समाजवादी मोर्चा मार्फत एकताको प्रयास जारी रहेको पनि बताएका छन । साथै उनले यो महाधिवेशनले त्यसतर्फ ठोस निर्णय लिनेमा विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘निर्वाचनअघि र पछि समाजवादी मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौँ । मलाई लाग्छ यो महाधिवेशनले त्यो दिशामा ठोस निर्णय गरोस् । हामी चाहन्छौँ देशका सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर सुशासन सामाजिक, न्याय र समृद्धिको सम्बोधन गर्न सकियोस् ।’
साथै एकीकृत समाजवादीले तयार गरेको राजनीतिक दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा उनले असन्तुष्टि पोखेका छन् । आफू अस्थिर नभएको भए देशमा संविधान सभा, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रसमेत नआउने प्रचण्डले दाबी गरेका छन ।
उनले भने,‘तपाईँको दस्ताबेजमा अन्य शक्तिभन्दा माओवादी केन्द्रलाई नजिकको शक्ति भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ ।
हरेक पार्टीलाई अर्को पार्टीप्रति दृष्टिकोण बनाउनु आवश्यक छ । तर म यति भन्छु प्रचण्ड अलि अस्थिर नभएको भए संविधानसभा, लोकतान्त्रिक गणतन्त्र स्थापना हुने थिएन ।
प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो । तपाईँले उद्धृत गरेको अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्ने नै थिएनौँ ।’
उनले द्वन्द्वात्मक भौतिकवादको गतिशीलता के हो ? किलो बाँधेर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरी जस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदी जस्तो हुर्रिने मार्क्सवाद हो ? भन्नेतर्फ विचार गर्न उनले आग्रह गरेका छन ।