काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको दाबी गरेका छन ।
आज (आइतबार) पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अहिले पनि विघटन गरेर ठीक गरियो भनेर बोल्ने गरेको सुनेको भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरेका छन ।
अध्यक्ष नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला ।’ अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको पनि बताएका छन ।
उनले भने, ‘अहिले विघटन गर्ने आवश्यकता छैन, हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन ।’ नेपालले पार्टी बलियो भएन भने कसैले पनि नपुछ्ने भन्दै पार्टी बलियो बनाउन ध्यान दिने पनि बताएका छन । तर पार्टी बलियो मात्र भएर पनि नहुने, त्यसको साथसाथै सही विचार र दृष्टिकोण पनि हुनुपर्ने उनको भनाइ छ ।
पार्टीमा नेता कार्यकर्ताको कमी नभएको भन्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताको आधार बनाउँदै जाने बताए । तर एकताका नाममा हतार गर्ने र एकताका लागि ढिलो गर्ने पक्षमा आफू नभएको पनि उनले बताएका छन ।