‘डार्क फाइल’का प्रतिवादीलाई फरार अभियुक्त बनाएको भन्दै रामहरि खतिवडाले मागे गृहमन्त्रीको जवाफ

काठमाण्डु टुडे २०८१ असार १६ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, १६ असार– कांग्रेस सांसद रामहरि खतिवडाले सिधा कुरा नामक युट्युब च्यानलबाट प्रसारित ‘द डार्क फाइल’ का प्रसारकमाथि मुद्दा दायर भएको तर उनीहरूलाई फरारको सूचीमा राखिएको भन्दै संसद्मा प्रश्न गरेका छन ।

आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले त्यसप्रति आपत्ति जनाउँदै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन ।

असार १४ गते जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालतमा ‘द डार्क फाइल’ भन्ने मुद्दा दर्ता भएको, यो मुद्दामा ३ जना राजकुमार तिमिल्सिना, युवराज कँडेल र नवीन ढुङ्गाना अभियुक्त बनाइएको र उनीहरूलाई प्रहरीले के आधारमा फरार सूचीमा राखेको भन्दै प्रश्न गरेका छन ।

उनले भने– ‘कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिइएका चलाउने भन्ने मान्छेलाई मुद्दा चलाउँदा तत्कालीन एआइजीलाई निलम्बन कारबाहीको प्रस्तावसम्म गरियो ।

अहिले यो डार्क फाइल जसलाई सर्वोच्चको संवैधानिक इजलासले समेत अनुसन्धान गर्नु भनेर अनुमति दिएको थियो । सीआइवीले त्यसलाई छानबिन पनि गरेको थियो । तर त्यहाँ बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो ?

यो आपत्तिजनक छ, कसले यस्तो गर्‍यो गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’ दुई पटक सीआइबीले बयान लिएको व्यक्तिलाई के आधारमा फरार अभियुक्त बनाइयो त्यसको जवाफ छिटो दिन सांसद खतिवडाले माग समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us