लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार १६ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १६ साउन– प्रहरीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेको प्रहरीले जानकारी दिएको छ ।

सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप रहेको छ ।

बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।

मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us