एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी हुन ओली अनिच्छुक

काठमाण्डु टुडे २०८१ असार १६ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १६ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् ।

महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि अध्यक्ष ओली भने सहभागी नहुने एमाले स्रोतले जानकारी दिएको छ ।

सचिवालयले अर्कै कार्यक्रम तय भएको बताए पनि अध्यक्ष ओली स्वयं एकीकृत समाजवादीको कार्यक्रममा जान अनिच्छुक रहेको बताइएको छ ।

०७८ सालमा एमालेबाट विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन अस्वीकार गर्दै आएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एकीकृत समाजवादीको महाधिवेशनमा को सहभागी हुने भन्ने टुङ्गो नलागेको जानाकारी दिएका छन ।

उनले भने, ‘को जाने भन्ने टुङ्गो लागेको छैन ।’ एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us