सुदूरपश्चिमका ४ मन्त्रालय फुटाइयो, ५ विना विभागीय मन्त्रीलाई जिम्मेवारीसहित पदभारको तयारी

काठमाण्डु टुडे २०८१ असार १६ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १६ असार– सुदूरपश्चिम प्रदेश सरकारले ४ वटा मन्त्रालय फुटाएको छ । ७ वटा मन्त्रालय रहेकमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विभाजन गरीएको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय विभाजन गरेर विना विभागीय मन्त्रीहरूलाई ती मन्त्रालयहरूको जिम्मेवारी दिएका हुन । आज पदभार ग्रहण समेत हुने माओवादी केन्द्रका उपनेता तथा जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका अक्कलबहादुर रावललेले जानकारी दिएका छन ।

भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ ।

जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको मन्त्री रावलले जानकारी दिएका छन । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ ।

मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका उपनेता समेत रहेका अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय, एमालेका वीरबहादुर थापालाई वन वातावरण तथा सहकारी मन्त्रालय, हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादी केन्द्रकै लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालय र एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालय फुटेपछि यसअघि जिम्मेवारीमा रहेका मन्त्रीहरूको मन्त्रालय पनि परिवर्तन भएको छ । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सोडारीले जेठ २८ गते सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रदेश सरकारमा सहभागी गराउँदै मन्त्री मन्त्रीमण्डललाई पूर्णता दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us