काठमाण्डु, १५ असार– नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टहरूबिच पुनः एकता हुनुपर्ने बताएका छन ।
आज (शनिबार) काठमाण्डुमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने धारणा व्यक्त गरेका छन ।
उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताएका छन । उनले जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिईकन समाजवाद स्थापना नसकिने बताएका छन ।
उनले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीले हामी एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्यो । हामी एकता गर्छौँ । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरूको बिचमा एकता हुनैपर्छ । त्यही कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर ।
राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो । मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिईकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिस्टहरू बिचको एकता हुनैपर्छ ।’